हिमाल, पहाड र तराईसम्म फैलिएको यस कोशी प्रदेशमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम,
भोजपुर,
धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । यस
प्रदेशको
पूर्वतर्फ भारतको पश्चिम बङ्गाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन् । यसै गरी उत्तरतर्फ चीनको स्वशासित
क्षेत्र तिब्बत र पश्चिमतर्फ मधेश प्रदेश र बाग्मती प्रदेश पर्दछन् । यो प्रदेश २६ डिग्री २२ मिनेट देखि २८
डिग्री ६ मिनेट उत्तरी अक्षांशसम्म र ८६ डिग्री ९ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म रहेको
छ ।
यस प्रदेशको कूल क्षेत्रफल २५९०५ वर्ग कि. मि. तथा कूल जनसङ्ख्या ४५३४९४३ रहेको छ ।
जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, क्षेत्री, राई, लिम्बू, थारू, लेप्चा,
मुस्लिम, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, मैथिली,
किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मुस्लिम, मगर र थारू भाषा मुख्य रुपमा बोलिन्छन् । विश्वकै
सर्वाेच्च
शिखर सगरमाथालगायत कञ्चनजङ्घा, मकालु, चोयु, ल्होत्से, जन्नु आदि हिमालहरूको अवस्थितिले मित्रराष्ट्र चीनसँग
प्राकृतिक सीमाको काम गरेको छ । यस प्रदेशमा इलामको अन्तुडाँडा, कन्याम, धनकुटाको भेडेटार, सोलुखुम्बुको
नाम्चे
बजार, सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरू रहेका छन् । प्राकृतिक सम्पदा,
वन्यजन्तु तथा पशुपंछीको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण
राष्ट्रिय
निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजङ्घा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह््यातुङ झरना तथा
टोड्के र
पोकली जस्ता ठूला र लामा झरनाहरू पनि यसै प्रदेशमा रहेका छन् ।
सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिम श्रृङ्खलालगायत प्राकृतिक सम्पदाले सुशोभित दक्षिणपूर्वी एसियामा
अवस्थित
नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिलेसमेत सम्वृद्ध छ । असङ्ख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले
भरिपूर्ण नेपालको सूदुरपूर्वमा रहेको यस प्रदेश नं.१ मा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरू जस्तै:
ताप्लेजुङको पाथिभरा देवीको मन्दिर, इलामको माइपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह
क्षेत्र,
बूढा सुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी,
दूधकुण्ड,
कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरू रहेका छन् । यी स्थलहरूमा स्वदेशी तथा
विदेशी
तिर्थालुहरूको प्रगाढ आस्था रही आएको छ । वर्षेनी हजारौँ भक्तजन तथा तीर्थयात्रीहरूको आगमनले धार्मिक
पर्यटनमा
टेवा पुगेको पाइन्छ ।
यस प्रदेशमा पुवा खोला जलविद्युत आयोजना र थामे जलविद्युत आयोजना निर्माण भई सञ्चालनमा रहेका छन् भने अरुण
तेस्रो जलविद्युत आयोजना प्रमुख प्रस्तावित जलविद्युत आयोजनाभित्र पर्दछ । जलस्रोतमा सम्पन्न यस प्रदेशमा
अरुण,
तमोर, दूधकोशी, मेची, कन्काई र त्रियुगालगायतका नदीहरू रहेका छन् ।
THE OFFICIAL PORTAL OF GOVERNMENT OF KOSHI PROVINCE
The province is named Koshi after the Koshi River, which is the largest river in the country. On 1 March 2023 the former temporary name of the province, Province No. 1, was changed to Koshi Province.